Dr.Liyan Poudel

Dr.Liyan Poudel

Share

Health for All | Health Awareness | Educate | Fact-based health content | OPD Consultation |

22/07/2026

वैतरण बस्ति:
आमवात (Rheumatoid Arthritis) को व्यवस्थापनमा महत्त्वपूर्ण भुमिका ।

एक चिकित्सकको रूपमा, बिरामीले पुनः आफ्नो दैनिक जीवनमा स्वतन्त्रता प्राप्त गरेको देख्नु चिकित्सकीय अभ्यासको सबैभन्दा सन्तोषजनक अनुभवहरूमध्ये एक हो।

२९ वर्षीया महिला, जसलाई आमवात (Rheumatoid Arthritis) भएको थियो। उहाँमा निम्न लक्षणहरू देखिएका थिए:

• जोर्नीहरूमा अत्यधिक दुखाइ तथा सुन्निने समस्या।

• जोर्नी चलाउन गाह्रो हुनु।

• शरीर भारी महसुस हुनु (गौरव)

• बिहान उठ्दा अत्यधिक जकडिने (Morning stiffness)।

• चम्चा समात्न तथा आफैं खाना खान कठिनाइ

• RA Factor: 89 IU/mL

बिरामीलाई वैतरण बस्ति, दीपन–पाचन, आम पाचन, आवश्यक शमन चिकित्सा, पथ्य–अपथ्य तथा जीवनशैली परिमार्जन समेटिएको व्यक्तिगत आयुर्वेदिक उपचार योजना अनुसार उपचार गरियो। यसपछि बिरामीको कार्यक्षमतामा उल्लेखनीय सुधार देखियो।

हाल उहाँ दैनिक जीवनका आधारभूत कार्यहरू आफैं गर्न सक्षम हुनुहुन्छ, साथै दुखाइ र जकडिने समस्या पनि उल्लेखनीय रूपमा कम भएको छ।

किन वैतरण बस्ति?

आयुर्वेद अनुसार आमवात को उत्पत्ति आम, अग्निमान्द्य, वात प्रकुपित अवस्था, तथा स्रोतोरोध (शरीरका स्रोतसहरूमा अवरोध) का कारण हुन्छ।

वैतरण बस्ति परम्परागत रूपमा निम्न अवस्थाहरूमा उपयोगी मानिएको छ:

• आमवात

• सन्धिवात

• गृध्रसी

• कटिग्रह

• अन्य दीर्घकालीन वात–कफजन्य मांसपेशी तथा अस्थि–सन्धिसम्बन्धी विकारहरू

वैतरण बस्तिका आयुर्वेदिक प्रभावहरू

•आम पाचन – आमको शोधन तथा निष्कासनमा सहयोग गर्दछ।

• वात–कफ शमन – दोषहरूको सन्तुलन कायम गर्न मद्दत गर्दछ।

• स्रोतोशोधन – शरीरका स्रोतसहरूलाई स्वच्छ र अवरोधरहित बनाउन सहयोग गर्दछ।

• वेदनास्थापन – दुखाइ तथा जकडिने समस्या कम गर्न सहयोग गर्दछ।

•कार्यात्मक चलायमानता (Functional mobility) तथा जीवनस्तर सुधार गर्न मद्दत गर्दछ।

सामान्य रूपमा देखिने चिकित्सकीय लाभहरू

• बिहानको जकडिने समस्या कम हुनु।

• हातको समात्ने शक्ति (Grip strength) मा सुधार।

• जोर्नी सुन्निने समस्या कम हुनु।

• हिँडडुल तथा दैनिक कार्य गर्न सहज हुनु।

• पाचनशक्ति तथा भोकमा सुधार।

• समग्र जीवनस्तरमा सुधार।

महत्त्वपूर्ण चिकित्सकीय दृष्टिकोण

वैतरण बस्ति लाई केवल एउटा बस्ति प्रक्रिया को रूपमा मात्र हेर्नु उचित हुँदैन।

उचित बिरामी मूल्याङ्कनपछि, समग्र आयुर्वेदिक उपचार योजनाको एक अभिन्न अङ्गका रूपमा प्रयोग गर्दा यसले अग्नि लाई सन्तुलित गर्ने, आम लाई कम गर्ने, दोषहरूको सन्तुलन कायम गर्ने तथा शरीरको सामान्य शारीरिक कार्यलाई समर्थन गर्ने उद्देश्य राख्दछ।

प्रत्येक बिरामी फरक हुन्छन्, त्यसैले उपचार सधैं व्यक्तिगत आवश्यकता अनुसार हुनुपर्छ। समयमै उपचार, उपयुक्त पञ्चकर्म, उचित आहार–विहार, जीवनशैली परिमार्जन तथा नियमित फलोअपले उपयुक्त बिरामीहरूमा कार्यक्षमता सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

उपचारको नतिजा रोगको अवधि, गम्भीरता, अन्य सह–रोग (Comorbidities) तथा बिरामीको उपचारप्रतिको पालना (Adherence) अनुसार फरक हुन सक्छ। व्यक्तिगत उपचारका लागि योग्य आयुर्वेद चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ।

08/07/2026

के तपाईं पनि ग्यास्ट्रिकको औषधि (PPI) लामो समयदेखि खाँदै हुनुहुन्छ?हड्डीको स्वास्थ्यमा ध्यान दिनुहोस्!

ग्यास्ट्रिक,एसिडिटी वा GERD को समस्या हुँदा हामीमध्ये धेरैले Omeprazole, Pantoprazole,Rabeprazole जस्ता औषधिहरू नियमित रूपमा प्रयोग गर्ने गर्छौँ। यी औषधिहरूलाई चिकित्सकीय भाषामा PPI (Proton Pump Inhibitors) भनिन्छ।

यी औषधिहरू आवश्यक अवस्थामा निकै प्रभावकारी र सुरक्षित मानिन्छन्। तर लामो समयसम्म अनावश्यक वा चिकित्सकीय निगरानीबिना प्रयोग गर्दा हड्डीको स्वास्थ्यमा सम्भावित असर पर्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।

एक Meta-analysis (J Bone Metabolism,2018) मा २७ लाखभन्दा बढी मानिसहरूको तथ्याङ्क विश्लेषण गर्दा PPI प्रयोग गर्ने व्यक्तिहरूमा fracture risk (हड्डी भाँचिने जोखिम) बढेको पाइएको थियो।

अनुसन्धानले देखाएका मुख्य तथ्यहरू:

Fracture Risk बढ्न सक्छ: PPI प्रयोगकर्ताहरूमा विशेष गरी hip,spine र wrist fracture को जोखिम केही बढी देखिएको छ।

लामो समय प्रयोगसँग सम्बन्ध: औषधिको प्रयोग अवधि बढ्दै जाँदा जोखिम पनि बढ्न सक्ने देखिएको छ।

Bone Mineral Density (BMD): केही अध्ययनहरूमा हड्डीको घनत्वमा ठूलो परिवर्तन नदेखिए पनि, हड्डीको गुणस्तर (Bone Quality) र fracture susceptibility मा असर हुन सक्ने सम्भावना उल्लेख गरिएको छ।

PPI ले हड्डीमा कसरी असर गर्न सक्छ?

Calcium absorption मा कमी: पेटको एसिड कम हुँदा केही अवस्थामा खानाबाट क्याल्सियम अवशोषणमा असर पर्न सक्छ।

Magnesium र Vitamin B12 मा असर: लामो समय प्रयोग गर्दा केही व्यक्तिहरूमा Magnesium तथा Vitamin B12 को कमी देखिन सक्छ, जसले समग्र स्वास्थ्यमा प्रभाव पार्न सक्छ।

Bone remodeling मा प्रभाव: हड्डी निर्माण र पुनःनिर्माण प्रक्रियामा अप्रत्यक्ष असर पर्न सक्ने अनुमान गरिएको छ।

ग्यास्ट्रिक भयो भन्दैमा आफ्नै इच्छाले महिनौँ वा वर्षौँसम्म PPI सेवन नगर्नुहोस्। आवश्यक भएमा चिकित्सकको सल्लाहअनुसार सही dose र duration मा प्रयोग गर्नुहोस्। Calcium, Vitamin D युक्त सन्तुलित आहार र नियमित शारीरिक गतिविधिमा ध्यान दिनुहोस्। लामो समय PPI प्रयोग गर्ने व्यक्तिहरूले आफ्नो bone health को जोखिम मूल्याङ्कन गराउनु उपयुक्त हुन्छ।

PPI औषधि आफैंमा खराब होइन। सही कारण र सही अवधिका लागि प्रयोग गर्दा यी औषधिहरू धेरै अवस्थामा जीवनरक्षक पनि हुन सक्छन्। समस्या भनेको अनावश्यक र दीर्घकालीन प्रयोग हो।

स्वस्थ रहौँ,सचेत बनौँ।

यो जानकारी जनचेतना तथा शैक्षिक उद्देश्यका लागि मात्र हो।
औषधि बन्द वा परिवर्तन गर्नुअघि चिकित्सकको सल्लाह लिनुहोस्।

29/06/2026

Palmoplantar Psoriasis: प्रतिरक्षा-सम्बन्धी दीर्घकालीन छाला रोग र यसको दैनिक जीवनमा पर्ने प्रभाव।

palmoplantar psoriasis(PPP) छालाको एक सामान्य,दीर्घकालीन,
प्रतिरक्षा-सम्बन्धी (immune-mediated),अत्यधिक कोशिका वृद्धिहुने(proliferative)
तथा नसर्ने (non-communicable) रोग हो।यो रोग प्रायः आनुवंशिक रूपमा संवेदनशील (genetically predisposed) व्यक्तिहरूमा देखिन्छ,जसको रोगजनन (pathogenesis) मा जीवनशैली र वातावरणीय कारकहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ। जुन skin मा हुने chronic inflammatory changes द्वारा चरित्रकृत हुन्छ। यसले विश्वको लगभग २% - ४% जनसंख्यालाई असर गर्छ। Psoriasis का कुल बिरामीहरूमध्ये लगभग ५% मा palmoplantar psoriasis हुन्छ। Plaque psoriasis मात्र भएका बिरामीहरूको तुलनामा palmoplantar psoriasis भएका बिरामीहरूको व्यक्तिगत र सामाजिक जीवनमा बढी नकारात्मक असर पर्छ। दैनिक क्रियाकलापमा अत्यधिक कठिनाइ,self-care challenges र mobility impairments सँगै topical medicine माथिको निर्भरताले बिरामीको quality of life लाई थप बिगार्छ Palmoplantar psoriasis उपचारका लागि चुनौतीपूर्ण प्रकार हो र यसको epidemiology स्पष्ट रूपमा परिभाषित छैन। Palmoplantar psoriasis एउटा छुट्टै समस्याको रूपमा हुन सक्छ वा यो plaque psoriasis सँगै पनि देखिन सक्छ। Psoriasis को जटिल र multifactorial pathogenesis ले उपचार पद्धतिमा सधैं बाधा खडा गर्छ र यसमा recurrence pattern देखिन्छ।

छाला (Skin) शरीरको सबैभन्दा ठूलो अंग हो,जुन निरन्तर विभिन्न environmental agents जस्तै physical,chemical तथा biological factors को सम्पर्कमा रहन्छ। यसको प्रमुख कार्यहरूमा शरीरलाई microbes तथा बाह्य वातावरणीय तत्वहरूबाट सुरक्षा प्रदान गर्नु,body temperature को regulation गर्नु तथा touch,heat र cold को संवेदनाको अनुभूति गराउनु पर्दछ। छाला विभिन्न तहहरूबाट बनेको हुन्छ। सबैभन्दा बाहिरी तहलाई epidermis भनिन्छ,जसले waterproof barrier को रूपमा कार्य गर्दछ र skin tone निर्धारण गर्दछ। epidermis को तल dermis अवस्थित हुन्छ,जसमा tough connective tissue,hair follicles तथा sweat glands पाइन्छन्। यसभन्दा गहिरो तहलाई subcutaneous tissue वा hypodermis भनिन्छ,जुन fat तथा connective tissue बाट बनेको हुन्छ। Skin diseases ले बिरामीमा केवल शारीरिक प्रभाव मात्र पार्दैनन्,बरु मानसिक तथा सामाजिक जीवनमा समेत नकारात्मक असर पुर्‍याउँछन्।

आयुर्वेदमा skin diseases लाई कुष्ठ अन्तर्गत वर्गीकरण गरिएको छ,जसमा ७ महाकुष्ठ तथा ११ क्षुद्रकुष्ठ मुख्य प्रकारका रूपमा वर्णन गरिएका छन्। कुष्ठका निदानहरूको कारण दोषहरूको प्रकोप भई अग्निमान्द्य तथा धातु शैथिल्यता उत्पन्न हुन्छ। दोषहरूमध्ये वात तथा कफको प्रकोप प्रमुख रूपमा हुने गर्दछ,जसका कारण त्वक,रक्त,मांस,लसिका तथा लोमकूप जस्ता दूष्यहरूमा शैथिल्यता उत्पन्न हुन्छ। यसरी दूषित भएका दोषहरू रस,रक्त आदि धातुहरूमा प्रवेश गरी विशेषतः तिर्यक् सिराहरूमा सञ्चार गर्दछन् र अन्ततः छालामा आश्रय लिएर कुष्ठ रोगको उत्पत्ति गराउँछन्।

विपादिका क्षुद्रकुष्ठको एक प्रकार हो,जुन मुख्य रूपमा वात-कफ दोषको विकृतिका कारण उत्पन्न हुन्छ। यस रोगको प्रमुख लक्षणहरूमा हातका हत्केला तथा खुट्टाका तलुवाहरूमा चिरा पर्नु तथा तीव्र वेदना हुनु पर्दछन्। विपादिकाको विस्तृत वर्णन चरक चिकित्सा स्थानको ७ औँ अध्याय तथा माधव निदानको ४९ औँ अध्यायमा पाइन्छ।अनुचित आहार-विहार,गुरु तथा स्निग्ध आहारको अत्यधिक सेवन,अजीर्ण अवस्थामा भोजन गर्नु, दिवास्वप्न (दिनमा सुत्ने बानी) तथा असात्म्य जीवनशैलीजस्ता विभिन्न कारणहरूले त्रिदोषको प्रकोप गराउँछन्। फलस्वरूप त्वक,रक्त,मांस तथा लसिका जस्ता दूष्यहरूको विकृति भई अन्ततः कुष्ठ रोगको उत्पत्ति हुन्छ। यो अवस्था palmoplantar psoriasis सँग केही हदसम्म समानता राख्दछ।
palmoplantar psoriasis जसमा hyperkeratosis,fissures, redness तथा कहिलेकाहीँ inflammation र pustules देखिन्छन्। आधुनिक चिकित्सामा यस रोगको उपचारका विकल्पहरू सीमित छन्,जसमा topical steroids तथा methotrexate जस्ता औषधिहरूको प्रयोग गरिन्छ। यद्यपि,यी उपचारहरूले मुख्यतः लक्षणात्मक राहत मात्र प्रदान गर्छन् र रोगको पूर्ण उपचार गर्न सक्दैनन्।

आयुर्वेद उपचार विधि (Treatment Protocol):-
1.दीपन-पाचन
2.स्नेहपान
3.अभ्यंग तथा स्वेदन
4.विरेचन
5.शमन औषधि
6.रसायन चिकित्सा

विपादिका (palmoplantar psoriasis) जस्ता चुनौतीपूर्ण dermatological conditions को व्यवस्थापनमा आयुर्वेदीय उपचारहरूको प्रभावकारितालाई उजागर गर्दछ। विरेचन चिकित्सा,मञ्जिष्ठादि कषाय,कैशोर गुग्गुलु तथा जात्यादि घृत मलमद्वारा रोगको मूल कारणलाई सम्बोधन गर्दा उल्लेखनीय लक्षणात्मक सुधार तथा दीर्घकालीन लाभ हुन सक्छ।आयुर्वेदको समग्र (holistic) दृष्टिकोणले केवल रोगका लक्षणहरूको उपचार मात्र नगरी सम्पूर्ण स्वास्थ्यको पुनःस्थापना तथा रोग पुनरावृत्तिको रोकथामलाई समेत लक्ष्य राख्दछ। यस कारणले दीर्घकालीन skin disorders भएका व्यक्तिहरूका लागि आयुर्वेद एक आशाजनक वैकल्पिक (alternative) वा सहायक (complementary) उपचार पद्धतिको रूपमा स्थापित हुन सक्छ।आयुर्वेदमा प्रमाणित anti-psoriatic action भएका जडीबुटीहरू प्रचुर मात्रामा छन्। chronic र autoimmune diseases का लागि कुष्ठ चिकित्सा को लागि multimodal treatment approach आवश्यक पर्दछ।

यो जानकारी केवल शैक्षिक तथा जनचेतनामूलक उद्देश्यका लागि मात्र प्रस्तुत गरिएको हो। कुनै पनि प्रकारको उपचार सुरु गर्नु अघि कृपया योग्य छाला रोग विशेषज्ञ (Dermatologist) वा सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहोस्। आयुर्वेदीय उपचार पनि दक्ष तथा योग्य आयुर्वेद चिकित्सकको निगरानीमा मात्र गर्नुपर्छ।

27/06/2026

अनुहार को पक्षघात (Facial Paralysis)

Facial Paralysis भनेको अनुहारको एकातर्फका मांसपेशीहरूमा अचानक हुने अस्थायी कमजोरी वा पूर्ण पक्षघात हो।

यसको कारण प्रायः स्पष्ट रूपमा थाहा हुँदैन (idiopathic)। यो अवस्था facial nerve को inflammation सँग सम्बन्धित हुन सक्छ वा herpes simplex virus जस्ता viral infection का कारण उत्पन्न हुन सक्छ। केही अवस्थामा Facial Paralysis,stroke वा facial nerve माथि दबाब दिने tumour जस्ता गम्भीर रोगहरूको लक्षण पनि हुन सक्छ। अन्य सम्भावित कारणहरूमा टाउकोमा चोटपटक,कानको संक्रमण तथा जन्मजात अवस्थाहरू पर्दछन्।

लक्षणहरू (Symptoms)

Bell's palsy का लक्षणहरू हल्का कमजोरीदेखि अनुहारको एकातर्फ पूर्ण पक्षघातसम्म देखिन सक्छन्।

• अनुहारको एकातर्फ हल्का कमजोरीदेखि पूर्ण पक्षघातसम्म हुनु।

• मुस्कुराउन कठिनाइ हुनु।

• निधार खुम्च्याउन कठिनाइ हुनु।

• भौं उठाउन कठिनाइ हुनु।

• स्वादमा परिवर्तन आउनु।

• आवाजप्रति बढी संवेदनशीलता हुनु।

• आँसु तथा र्यालको उत्पादनमा परिवर्तन हुनु।

• कान पछाडि वा बङ्गाराको वरिपरि दुखाइ हुनु।

• आँखा बन्द गर्न कठिनाइ हुनु।

• अस्पष्ट बोली (Slurred speech) हुनु।

• चपाउन कठिनाइ हुनु।

• गाला फुलाएर हावा भर्न वा सिठी बजाउन कठिनाइ हुनु।

• सुन्निनेपन वा दुखाइ अनुभव हुनु।

आयुर्वेदीय ग्रन्थहरूमा Facial Palsy लाई अर्दित रोगसँग सम्बन्धित गरिएको छ। जब वात दोष विकृत भई शरीरको माथिल्लो भाग,विशेष गरी शिर र मुख क्षेत्रमा सञ्चित हुन्छ,तब यो अवस्था उत्पन्न हुन्छ।

Facial Palsy का कारणहरू:-

• निरन्तर चिसोको सम्पर्कमा रहनु।

• टाउकोमा भारी बोझ बोक्नु वा अत्यधिक शारीरिक श्रम गर्नु।

• अनुचित सुत्ने बानी।

• राति धेरै बेरसम्म जाग्राम बस्नु।

• मानसिक तनाव।

आयुर्वेदमा Facial Palsy को उपचार व्यापक र समग्र दृष्टिकोणमा आधारित हुन्छ। यसको मुख्य उद्देश्य विकृत वात दोष लाई शान्त गर्नु,स्थानीय रक्तसञ्चार सुधार गर्नु,facial nerve लाई पोषण प्रदान गर्नु तथा मांसपेशीहरूको क्षय रोक्नु हो।

उपचार योजनामा प्रायः पञ्चकर्म तथा शमन चिकित्सा अन्तर्गत औषधिहरू समावेश गरिन्छ।

उपचार विधिहरू

१. मुखाभ्यङ्ग (Mukhabhyanga)
तातो तथा वातशामक औषधीय तेल प्रयोग गरी अनुहारमा गरिने कोमल चिकित्सकीय मालिस।

२. नाडी स्वेद (Nadi Sweda)
दशमूल क्वाथ वा औषधीय क्षीरधूम जस्ता औषधीय वाष्पद्वारा गरिने स्वेदनले स्थानीय रक्तसञ्चार सुधार गर्छ,मांसपेशीको ऐंठन कम गर्छ र तेलको अवशोषण बढाउँछ।

३. आश्चोतन (Aschotana)
आँखामा औषधीय थोपा राख्ने विधि हो। यसले आँखा ओसिलो राख्न मद्दत गरी corneal ulcer वा संक्रमणबाट जोगाउँछ।

४. नस्य कर्म (Nasya Karma)
नाकमार्फत औषधीय तेल प्रवाह गरिने यो विधिले cranial nerves मा प्रत्यक्ष प्रभाव पार्ने मानिन्छ। यसले इन्द्रियहरूलाई पोषण प्रदान गर्न मद्दत गर्दछ।

५. शिरोधारा पात्र धारण (Shirobasti)
विशेष टोपी प्रयोग गरी टाउकोमाथि मनतातो औषधीय तेल केही समयसम्म राखिने विधि हो। यो शिरसम्बन्धी गम्भीर रोगहरूमा विशेष उपयोगी मानिन्छ।

६. शिरोधारा तथा शिरोपिचु (Shirodhara & Shiropichu)
निधारमाथि निरन्तर औषधीय तेल खन्याउने वा टाउकोको मध्यभागमा तेलमा भिजेको कपडा राख्ने प्रक्रियाले स्नायुहरूको कार्यक्षमता सुधार गर्न,मानसिक शान्ति दिन तथा स्नायु प्रणालीलाई सन्तुलित राख्न सहयोग गर्दछ।

७. नेत्र तर्पण (Netra Tarpana)
औषधीय घ्यूलाई आँखाको वरिपरि केही समय राखिने विधि हो। यसले cornea को सुरक्षा,स्नायु शान्ति तथा पलकको गतिशीलता सुधार गर्न मद्दत गर्छ। आँखा पूर्ण रूपमा बन्द नहुने अवस्थाबाट हुने सुख्खापन र संक्रमणबाट पनि बचाउँछ।

८. कवल तथा गण्डूष (Kavala & Gandusha)
औषधीय तेल वा क्वाथ मुखमा केही समय राख्ने प्रक्रियाले अनुहारका मांसपेशीहरूलाई बलियो बनाउन तथा स्वाद अनुभूति सुधार गर्न मद्दत गर्दछ।

९. षष्टिकशाली पिण्ड स्वेद (Shashtika Shali Pinda Sweda)
दूध र विशेष चामल प्रयोग गरी गरिने स्वेदनले क्षीण भएका अनुहारका मांसपेशीहरूलाई पोषण प्रदान गर्दछ।

आन्तरिक औषधिहरू (Internal Medications)

भित्री रूपमा शरीरलाई पुनःस्थापित गर्न रसायन,बल्य तथा वातहर गुण भएका औषधिहरू प्रयोग गरिन्छ। यी औषधिहरूले inflammation कम गर्न,motor function सुधार गर्न तथा स्नायु प्रणालीलाई बलियो बनाउन सहयोग गर्छन्। साथै शरीरका स्रोतसहरूमा भएको आवरण हटाउने उद्देश्य पनि राखिन्छ।

आहार तथा जीवनशैलीको महत्त्व

दैनिक बानी तथा जीवनशैलीले निको हुने प्रक्रियामा अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछ।

• तातो तथा पौष्टिक भोजन सेवन गर्नु।
• चिसो पानी, चिसो हावा तथा चिसो वातावरणबाट टाढा रहनु।
• प्राकृतिक वेगहरूलाई नरोक्नु।
• अत्यधिक यात्रा नगर्नु।
• पर्याप्त निद्रा लिनु।
• रोगको प्रारम्भिक अवस्थामा धेरै बोल्ने, धेरै हाँस्ने वा प्रभावित भागले कडा खानेकुरा चपाउने कार्य नगर्नु।
• तनावबाट टाढा रहनु।
• प्राणायाम तथा विश्राम अभ्यासलाई दैनिक जीवनमा समावेश गर्नु।
• तीव्र inflammation कम भएपछि प्रतिदिन १०–१५ मिनेट हल्का अनुहार व्यायाम गर्नु।

रोगको अवस्था र चरण निर्धारण गर्न आयुर्वेद चिकित्सकद्वारा शारीरिक परीक्षण आवश्यक हुन्छ। समयमै चिकित्सकबाट उपचार गराउनु पूर्ण स्वास्थ्य लाभका लागि अत्यन्त महत्वपूर्ण छ।

#स्वास्थ्य #आयुर्वेद
#स्वास्थ्य #आयुर्वेद #अर्दित #मुखपक्षघात #नेपालीस्वास्थ्य

26/06/2026

Uveitis/अभिष्यन्द/आँखाको भित्री तह सुन्निने समस्या

Uveitis आँखाको भित्री तह Uvea को एक इन्फ्लेमेटरी अवस्था (inflammation/सुन्निएर हुने समस्या) हो,जसमा iris,ciliary body र choroid पर्दछन्। यी मध्ये कुनै पनि भागमा हुने inflammation ले आँखा दुख्ने,रातो हुने र दृष्टिमा परिवर्तन आउने हुन सक्छ। यो अचानक वा बिस्तारै विकसित हुन सक्छ र यदि यसको सही उपचार गरिएन भने, cataract,glaucoma,macular edema वा स्थायी रूपमा दृष्टि गुम्ने जस्ता जटिलताहरू (complications) निम्त्याउन सक्छ। यसले सबै उमेर समूहका मानिसहरूलाई असर गर्न सक्छ।

Uveitis का कारणहरू (Causes of Uveitis)
Uveitis को वास्तविक कारण अज्ञात छ। तर,यो सामान्यतया निम्न अन्तर्निहित अवस्थाहरू वा ट्रिगरहरूका कारण हुन सक्छ:

1.Autoimmune Disorders: Rheumatoid arthritis,lupus,ankylosing spondylitis र psoriasis जस्ता autoimmune अवस्थाहरू Uveitis को कारण हुन सक्छन्।
2.Infections:भाइरल वा ब्याक्टेरियल इन्फेक्सनहरू जस्तै Herpes simplex, Herpes zoster,Syphilis,Tuberculosis (टीबी) र Toxoplasmosis।
3.आँखाको चोट वा ट्रमा (Eye Injury or Trauma):आँखामा लागेको गहिरो चोट वा सर्जरी र त्यसपछि हुने इन्फेक्सनले गर्दा Uveitis हुन सक्छ।
4.केही औषधिहरूको एलर्जी वा मेटाबोलिक विकारहरू (metabolic disorders) पनि यसको कारण हुन सक्छन्।

Uveitis का लक्षणहरू (Symptoms of Uveitis):-

लक्षणहरूको गम्भीरता र प्रकार inflammation को भाग र स्थान अनुसार फरक हुन्छ, त्यसैले दृष्टिमा अचानक आउने परिवर्तन वा लगातार आँखा दुखिरहेमा तुरुन्तै ophthalmological evaluation (आँखा जाँच) गराउनुपर्छ।
A.आँखा अत्यधिक रातो हुने (अक्सर iris को नजिकबाट सुरु हुने)।
B.आँखाभित्रै देखि ठुक्क-ठुक्क गरेर कडा रूपमा दुख्ने (Deep, throbbing pain)।
C.Photophobia (उज्यालो हेर्न गाह्रो हुने)।
D. धमिलो वा बादल लागेको जस्तो देखिने (Blurred or cloudy vision)।
E. Floaters (आँखा अगाडि काला थोप्ला वा धर्साहरू तैरिएको देखिने)
F. आँखाबाट पानी बग्ने।
G.आँखाको वरिपरि टाउको दुख्ने।

Uveitis का प्रकारहरू (Types of Uveitis)
आँखाको प्रभावित भागको आधारमा Uveitis लाई वर्गीकरण गरिएको छ:

1.Anterior Uveitis: यसमा आँखाको अगाडिको भाग,मुख्य गरी iris प्रभावित हुन्छ। यो सबैभन्दा सामान्य प्रकारको Uveitis हो।
2.Intermediate Uveitis:यसले मुख्य रूपमा vitreous र ciliary body लाई असर गर्छ। यो सामान्यतया युवाहरूमा बढी देखिन्छ।
3.Posterior Uveitis:यसमा retina र choroid समावेश हुन्छन्। उपचार नगरिएमा यसले दृष्टिलाई गम्भीर असर गर्न सक्छ।
4.Panuveitis: यसले uveal tract का सबै भागहरूलाई प्रभावित गर्छ। यसलाई Uveitis को सबैभन्दा गम्भीर रूप मानिन्छ।

Uveitis लाई अयुर्वेद मा अभिष्यन्द संग तुलनात्मक रूपमा वर्णन गरिएको छ।
Ayurveda मा आँखाका लगभग सबै विकारहरूलाई अभिष्यन्द(infammatory eye discharge diseases) अन्तर्गत वर्गीकरण गरिएको छ,जसलाई पित्त र कफ दोष को असन्तुलन र आम (विषाक्त पदार्थ/toxins) को संचय मानिन्छ। यदि यसको उपचार गरिएन भने,यो inflammation आँखाको गहिराइसम्म पुग्छ,जसले अधिमन्थ को रूप लिन्छ यो अवस्थामा आँखामा असह्य र ठुक्क-ठुक्क गरेर दुख्ने लक्षण देखिन्छ।

अयुर्वेद ले Uveitis लाई केवल लक्षणहरू दबाउने हिसाबले मात्र नभई,शरीरलाई डिटोक्सिफाई (विषाक्तता रहित) गर्न र शोधन (purification) मार्फत प्रणालीगत सूजन (systemic inflammation) को मूल कारणलाई हटाएर सन्तुलन (homeostasis) पुन: प्राप्ति गर्ने दृष्टिकोण राख्दछ। यसपछि आँखाका लागि स्थानीय रूपमा सुखदायक हेरचाह (localized soothing care) गरिन्छ। आन्तरिक औषधि र बाह्य थेरापीहरू सहितको हाम्रो उपचारले दुखाइ,रातोपन र आँखाको असजिलोपन कम गर्दै लक्षणहरूमा ठुलो राहत पुर्‍याउन सक्छ। यो समग्र (holistic) दृष्टिकोणले प्रणालीगत मूल कारणलाई सम्बोधन गरेर रोग दोहोरिने अन्तराललाई लम्ब्याउने लक्ष्य राख्दछ।

शमन (Shamana - Pacification Therapy):-
बिरामीको प्रकृति(constitution),रोगको पुरानापन (chronicity),गम्भीरता र प्रणालीगत सम्बन्धको आधारमा कषाय,चूर्ण र ट्याब्लेट जस्ता आन्तरिक औषधिहरू दिइन्छ। यसले सूजन र edema कम गर्न,रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलनमा राख्न, आम (toxins) लाई सफा गर्न र प्रणालीगत सूजन कम गर्न मद्दत गर्दछ।

शोधन थेरापी(Shodhana - Detoxification/Purificatory Therapies):-
विरेचन(Therapeutic Purgation)
नस्य (Medicated nasal therapy)
जलौकावचारन (Bloodletting/Leech Therapy - जुका लगाएर अशुद्ध रगत निकाल्ने)
शिरोधारा
नेत्र क्रियाकल्प जस्तै: आश्च्योतन: Eye Drops/Instillation of Eye Drops,
नेत्रधारा: Eye Irrigation / Eye Washing,बिडालक: Medicated Eye Pack / Topical Eye Poultice, किझिस्वेदम(Kizhiswedam/Pinda Sweda): Warm Medicated Fomentation / Warm Compress र नेत्र तर्पण: Medicated Ocular Bath / Therapeutic Eye Bath.

पथ्य आहार र जीवनशैली (Diet & Lifestyle Modification)
Uveitis व्यवस्थापनका लागि उपचारका साथसाथै उचित खानपान र जीवनशैलीमा परिवर्तन गर्नु अत्यन्त आवश्यक छ।

1.पथ्य आहार (Wholesome Food - खानेकुराहरू):
हरिया सागसब्जीहरू।
ठिक्क मात्रामा घिउको सेवन।
Vitamin C युक्त खानेकुराहरू।
प्रशस्त पानी पिउने (Adequate hydration)।

2.अपथ्य आहार (Foods to Avoid - बार्नुपर्ने खानेकुराहरू):
पिरो,चिल्लो र मसलादार खानेकुराहरू।
अमिलो बनाएका वा अमिलिएका (Fermented) परिकारहरू।
बढी तेलमा तारिएका (Deep fried) खानेकुराहरू।
अत्यधिक मदिरा (Alcohol) को सेवन।

जीवनशैलीमा परिवर्तन (Lifestyle Modification):
पर्याप्त र राम्रो निद्रा।
तनाव व्यवस्थापन (Stress management)।
स्क्रिन टाइम (मोबाइल,कम्प्युटर हेर्ने समय) सीमित गर्ने।
धूलो र प्रत्यक्ष सूर्यको प्रकाशबाट आँखालाई जोगाउने।

महर्षि सुश्रुतले स्पष्ट रूपमा निर्देश दिएका छन् कि आँखा रातो हुने र दुख्ने (अभिष्यन्द) सुरु हुने बित्तिकै सजग हुनुपर्छ। यदि त्यसलाई हल्का रूपमा लिएर अधिमन्थको अवस्थामा पुग्न दिइयो भने आँखाको 'दृष्टि-मण्डल' (Retina/Optic Nerve) सदाका लागि नष्ट हुन्छ, जसलाई पछि कुनै पनि उपचारले फर्काउन सकिँदैन।​त्यसैले,आयुर्वेदमा यसलाई Emergency (आत्ययिक अवस्था) मानेर तुरुन्तै 'रक्तमोक्षण' (Leech therapy/Bloodletting) र कडा 'विरेचन' (Purgation) गर्ने सल्लाह दिइएको छ ताकि आँखाको प्रेसर र सुन्निने भाग तुरुन्तै कम होस्।
Uveitis लाई कहिल्यै पनि बेवास्ता गर्नु हुँदैन किनभने बारम्बार हुने वा गम्भीर प्रकारको inflammation ले दृष्टिलाई स्थायी रूपमा क्षति पुर्‍याउन सक्छ। यसका लागि प्रारम्भिक ophthalmic evaluation (आँखा जाँच),उचित अनुसन्धान र समयमै उपचार हुनु आवश्यक छ। अवस्थाको निगरानी गर्न र आवश्यकता अनुसार उपचार परिमार्जन गर्न आँखा विशेषज्ञसँग नियमित फलोअप गर्नु महत्त्वपूर्ण हुन्छ। यद्यपि,सुरक्षित र प्रभावकारी उपचारका लागि यी सबै प्रक्रियाहरू योग्य आयुर्वेदिक चिकित्सकको प्रत्यक्ष रेखदेखमा मात्र गरिनुपर्छ।

Photos from Dr.Liyan Poudel's post 26/06/2026

Hypothyroidism को लागि आयुर्वेदिक उपचार (Ayurvedic Treatment for Hypothyroidism)

​Hypothyroidism एउटा यस्तो अवस्था हो जहाँ Thyroid gland ले पर्याप्त मात्रामा Thyroid hormones उत्पादन गर्न सक्दैन,जुन हार्मोनहरू शरीरको Metabolism लाई सन्तुलित राख्न आवश्यक हुन्छन्। जब हार्मोनको स्तर कम हुन्छ,शरीरका कार्यहरू ढिलो हुन्छन् र धेरै लक्षणहरू देखा पर्छन्।

Hypothyroidism का प्रकार र कारणहरू (Types and Causes)

• ​Primary Hypothyroidism

A. Hashimoto's disease: यो एउटा Autoimmune condition हो,जहाँ शरीरको आफ्नै Immune system ले गल्तीले Thyroid gland लाई आक्रमण गर्छ र क्षति पुर्‍याउँछ,जसले गर्दा हार्मोन उत्पादन कम हुन्छ।

​B. Congenital hypothyroidism: यो तब हुन्छ जब बच्चा जन्मिँदै Thyroid gland नभएको,पूर्ण रूपमा विकास नभएको वा हार्मोन उत्पादनमा कुनै खराबी भएको अवस्थामा हुन्छ।

• ​Secondary hypothyroidism:

यो अलि दुर्लभ प्रकार हो,जुन तब हुन्छ जब Pituitary gland ले पर्याप्त मात्रामा Thyroid-stimulating hormone (TSH) उत्पादन गर्दैन,जुन Thyroid gland लाई हार्मोन बनाउन आवश्यक पर्छ।

• ​Tertiary hypothyroidism:

यो अझ दुर्लभ हुन्छ र तब हुन्छ जब Hypothalamus ले पर्याप्त हार्मोन उत्पादन गर्न सक्दैन,जसले Pituitary gland लाई TSH उत्पादन गर्न उत्तेजित गर्छ।

• ​Hypothyroidism का लक्षणहरू (Symptoms)

• ​थकाई लाग्नु (Fatigue)
• ​चिसो धेरै लाग्नु (Increased sensitivity to cold)
• ​कब्जियत (Constipation)
• ​फुस्रो छाला (Dry skin)
• ​तौल बढ्नु (Weight gain)
• ​अनुहार सुन्निनु (Puffy face)
• ​स्वर बस्नु वा धोद्रो हुनु (Hoarseness of voice)
• ​मांसपेशी कमजोरी (Muscle weakness)

​केही मानिसहरूमा High cholesterol स्तर,मांसपेशी दुखाइ,कडापन,जोर्नी दुखाइ वा सुन्निने,महिनावारी गडबडी वा धेरै रगत बग्ने (Heavy or irregular menstrual periods),कपाल पातलो हुनु (Thinning hair),मुटुको धड्कन ढिलो हुनु (Slowed heart rate),डिप्रेसन (Depression) र स्मरणशक्ति कमजोर हुनु (Impaired memory) जस्ता लक्षणहरू पनि देखिन सक्छन्।

आयुर्वेदले यस रोगलाई पाचन र धातुको मेटाबोलिजमको दृष्टिकोणबाट हेर्छ। आयुर्वेदमा, Hypothyroidism लाई केवल Thyroid gland को मात्र रोग मानिदैन,बल्कि यसलाई अग्नि (पाचन/मेटाबोलिक अग्नि) र कफ को प्रणालीगत असन्तुलनको रूपमा हेरिन्छ। यसलाई अक्सर धातुवाग्नि मान्द को अवस्था मानिन्छ,जहाँ कोशिकाहरूको मेटाबोलिजम पोषक तत्व र ऊर्जा प्रशोधन गर्न धेरै ढिलो हुन्छ। जब यो "अग्नि" मन्द हुन्छ,शरीर निष्क्रियताको अवस्थामा प्रवेश गर्छ:

• ​कफ संचय: यसले तौल बढ्ने,सुन्निने (Edema) र सुस्ती वा आलस्य निम्त्याउँछ।

• ​वात असन्तुलन: यसले छाला फुस्रो हुने,कब्जियत हुने र मानसिक अस्पष्टता (Mental fog) वा एन्जाइटी (Anxiety) गराउँछ।

• ​स्रोतस अवरोध: शरीरका च्यानल वा मार्गहरू आम (विषाक्त पदार्थ) ले गर्दा बन्द हुन्छन्,जसले हार्मोनहरूलाई आफ्नो गन्तव्यसम्म पुग्न बाधा पुर्‍याउँछ।

​चिकित्सा र उपचार पद्धति (Treatment Therapies)

​१. सोधन र विषहरण उपचार (पञ्चकर्म)

​यस अन्तर्गत स्रोतसोधन (च्यानलहरू सफा गर्ने) गरिन्छ। जैविक-सफाई उपचारहरू अत्यधिक सिफारिस गरिन्छ किनभने यसले दोषहरूलाई सन्तुलनमा राख्न मद्दत गर्दछ।

A. विरेचन कर्म: यसमा नियन्त्रित रूपमा दिसा गराउने औषधिहरू दिएर शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकालिन्छ।

B. वमन कर्म: शरीरबाट अत्यधिक कफ दोष हटाउनको लागि यो उपचार हो।

C. दीपन र पाचन: पाचन शक्ति बढाउन र आम (विषाक्त पदार्थ) लाई निष्कासनका लागि तयार पार्न औषधिहरू दिइन्छ। यसले पाचन अग्नि लाई बलियो बनाउन र भविष्यमा विषाक्त पदार्थ जम्मा हुन नदिन पनि मद्दत गर्दछ।

​२. शमन चिकित्सा (Palliative Treatment)

A. मुखबाट खाने औषधिहरू: मेटाबोलिक सन्तुलनका साथै बन्द भएका स्रोतसहरू खोल्न,पाचन अग्नि प्रज्वलित गर्न र Thyroid function लाई उत्तेजित गर्न दीर्घकालीन रूपमा आयुर्वेदिक औषधिहरू दिइन्छ।

B. शिरोधारा: निधारमा निरन्तर रूपमा औषधि मिसाइएको तेल वा मोही खन्याएर Neuro-endocrine system र Hypothalamo-pituitary axis लाई उत्तेजित गरिन्छ,जसले हार्मोन सन्तुलन गर्न मद्दत गर्दछ।

​आहार निर्देशिका (पथ्य र अपथ्य)

​मेटाबोलिक रिकभरीलाई सघाउन बिरामीको आहार सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्छ:

A. पथ्य (Wholesome Foods): हल्का र सजिलै पच्ने खानेकुराहरू समावेश गर्नुहोस् जस्तै जौ, पुरानो चामल,मुगीको दाल,सहजन (Drumsticks) र Iodine-rich खानेकुराहरू। अदुवा,जिरा,मरिच र बिरे नुन जस्ता पाचक मसलाहरू प्रयोग गर्नुहोस्।

B. अपथ्य (Foods to Avoid): भारी,तारेको र फास्ट फूडहरू पूर्ण रूपमा त्याग्नुहोस्। Thyroid function लाई कम गर्न सक्ने तरकारीहरू जस्तै बन्दाकोभी,काउली,ब्रोकाउली,भटमास (Soybeans) र सख्खरखण्ड (Sweet potatoes) सीमित मात्रामा खानुहोस्। मैदा,अत्यधिक चिनी,Processed foods र बेकरीका परिकारहरू पनि त्याग्नुपर्छ।

​योग र प्राणायाम (Yoga and Pranayama)

​Hypothyroidism हटाउन शारीरिक र मानसिक सक्रियता महत्त्वपूर्ण हुन्छ। Thyroid gland मा रक्तसञ्चार बढाउनका लागि केही योगासनहरू अत्यधिक सिफारिस गरिन्छ। प्राणायाम श्वासप्रश्वास प्रविधि विशेष रूपमा फाइदाजनक छ किनभने यसले घाँटीको क्षेत्रलाई प्रत्यक्ष रूपमा उत्तेजित र न्यानो बनाउँछ।

​मानसिक स्वास्थ्य (Mental Health)

​Hypothyroidism को उपचार गर्दा मानसिक स्वास्थ्य एउटा मुख्य कारक हो। चिन्ता, अत्यधिक सोच,क्रोध र शोकबाट बचेर तनाव (Stress) लाई नियन्त्रण गर्नुहोस्,किनकि मानसिक तनावले शरीरको ओज (रोग प्रतिरोधात्मक क्षमता) लाई प्रत्यक्ष रूपमा नष्ट गर्छ र Autoimmune thyroid dysfunction लाई थप बिगार्छ।

आयुर्वेदले Hypothyroidism लाई केवल एक ठाउँको हार्मोनल कमीको रूपमा मात्र नहेरी,एक प्रणालीगत मेटाबोलिक असन्तुलनको रूपमा हेर्छ। मुखबाट खाने औषधि,पञ्चकर्म र जीवनशैली परिवर्तनहरूद्वारा मानिसहरूले आफ्ना लक्षणहरूलाई सफलतापूर्वक व्यवस्थापन गर्न र समग्र स्वास्थ्य प्राप्त गर्न सक्छन्।

25/06/2026

बारम्बार घाँटी दुख्ने वा टन्सिल सुन्निने समस्या छ?

टन्सिलाइटिस (Tonsillitis) भनेको घाँटीको पछाडिपट्टि रहेको टन्सिलमा हुने संक्रमण वा सूजन हो। यो विशेष गरी बालबालिका र युवा उमेरमा बढी देखिन्छ।

टन्सिलाइटिसका कारणहरू:
- ब्याक्टेरियल संक्रमण ।
- भाइरल संक्रमण ।
- रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु ।
-बारम्बार चिसो लाग्नु ।
- धूलो, धुवाँ तथा प्रदूषण ।
-अत्यधिक चिसो खानेकुरा तथा पेय पदार्थको सेवन।

लक्षणहरू:
- घाँटी दुख्ने ।
- निल्न गाह्रो हुने ।
- ज्वरो आउने ।
- टाउको दुख्ने ।
-घाँटीका ग्रन्थी सुन्निने ।
-टन्सिल सुन्निने वा रातो हुने।

उपचार:
• कफ शमन चिकित्सा।
• शोथहर चिकित्सा ।
• शोधन तथा कफप्रसादन चिकित्सा।

आयुर्वेदीय औषधिहरू:
• मृत्युञ्जय रस
• त्रिभुवन कीर्ति रस
• लक्ष्मीविलास रस
• श्वासकुठार रस
• कफकुठार रस
• अमृतारिष्ट
• इन्दुकान्त कषाय
• सुदर्शन चूर्ण

पथ्य: तातो पानी पिउने , हल्का तथा सुपाच्य भोजन गर्ने ,नुनपानीले कुल्ला गर्ने।

अपथ्य: चिसो पेय पदार्थ, दही, धूलो, धुवाँ तथा प्रदूषण।

नोट: औषधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार मात्र गर्नुहोस्। व्यक्तिको प्रकृति, उमेर तथा रोगको अवस्थाअनुसार औषधि फरक हुन सक्छ।

24/06/2026

गिजाबाट रगत आउने समस्या (Gingivitis)
गिजामा सुन्निने, रातो हुने र ब्रस गर्दा रगत आउने अवस्थालाई जिन्जिभाइटिस (Gingivitis) भनिन्छ।

प्रमुख कारण:
- दाँतको राम्रो सरसफाइ नगर्नु।
- प्लाक तथा टार्टर जम्नु।
- धूम्रपान।
- मधुमेह।
- हार्मोनल परिवर्तन।

लक्षणहरू:
-गिजाबाट रगत आउनु।
-गिजा सुन्निनु।
-मुख दुर्गन्ध हुनु।
-गिजा रातो वा संवेदनशील हुनु।

आयुर्वेदिक सुझाव:
- त्रिफलाले कुल्ला गर्ने।
- इरिमेदादि तेलले गण्डूष गर्ने।
- नियमित दन्तधावन तथा जिब्रो सफा गर्ने।
- पित्त र कफ नियन्त्रण गर्ने आहार अपनाउने।

समयमै उपचार नगरे गिजा कमजोर भई दाँत हल्लिन पनि सक्छ।

24/06/2026

मुख दुर्गन्ध (Bad Breath) किन हुन्छ?

मुखबाट आउने अप्रिय गन्धलाई मुख दुर्गन्ध (Halitosis) भनिन्छ। यो केवल मुखको समस्या मात्र नभई शरीरका अन्य रोगहरूको संकेत पनि हुन सक्छ।
कारणहरू:
- मुखको सरसफाइको कमी।
- दाँत तथा गिजाको रोग।
- जिब्रोमा मैला जम्नु।
- मधुमेह,कलेजो वा मिर्गौलाको समस्या।
- धूम्रपान तथा मदिरा सेवन।
- मुख सुख्खा हुनु।

रोकथामका उपायहरू :-
-दिनमा दुई पटक ब्रस गर्ने।
- जिब्रो सफा गर्ने।
- प्रत्येक खाना पछि कुल्ला गर्ने।
- प्रशस्त पानी पिउने।
- नियमित दन्त परीक्षण गर्ने।

- गण्डूष (Oil Pulling)
-त्रिफला वा इरिमेदादि तेलले कुल्ला गर्ने ।
- खदिरादि वटी जस्ता औषधिहरू चिकित्सकको सल्लाहअनुसार प्रयोग ।

24/06/2026

मुखपाक (मुखको घाउ/mouth Ulcer) के हो?

बारम्बार मुखभित्र साना–साना घाउ आउने,पोल्ने, खाना खाँदा दुख्ने वा बोल्न अप्ठ्यारो हुने समस्यालाई मुखपाक (Mukhapaka/Aphthous Ulcer) भनिन्छ।

सम्भावित कारणहरू:
शरीरमा पित्त दोषको वृद्धि।
भिटामिन B समूहको कमी।
अत्यधिक मसलेदार तथा तातो खाना।
तनाव र निद्राको कमी।
कब्जियत।
एलर्जी वा केही औषधिको असर।

लक्षणहरू:
मुखभित्र सेतो वा पहेँलो घाउ।
पोल्ने र दुख्ने।
खाना खान समस्या।
मुखमा जलन।

समाधानका उपाय :-
शीतल तथा पित्तशामक आहार
दूध,घ्यू तथा पौष्टिक खाना
गण्डूष (कुल्ला)
उचित पाचनको सुधार
चिकित्सकको सल्लाहअनुसार औषधि को प्रयोग ।

अत्यधिक मसलेदार, अमिलो, तातो खाना तथा धूम्रपानबाट टाढा रहनुहोस्।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu
44600